बोर्ड मोडेलमा लगेपछि हेटौंडामा खानेपानी व्यवस्थापन

0
40
https://washkhabar.com/np/2024/08/30/38582

हेटौंडा : कुनैबेला खानेपानी अभावमा काकाकुल बन्ने हेटौंडा उपमहानगरपालिकामा पछिल्लो एक वर्ष भित्रमा मात्र एक करोड लिटर भन्दा बढी पानी थप भएको छ। ०८० यता मात्रै एक करोड बढी लिटर खानेपानी व्यवस्था भएपछि उपमहानगरबासीलाई सहज भएको छ ।

नेपाल खानेपानी संस्थानबाट खानेपानी व्यवस्थापन बोर्ड बनेपछि खानेपानी व्यवस्थापनमा उल्लेख्य सुधार भएको हो । खानेपानी संस्थान हुँदा दैनिक ५५ देखि ६० लाख लिटरसम्म आपूर्ति हुन्थ्यो । खानेपानीको माग भने दैनिक १ करोड लिटर भन्दा बढी थियो । सुख्खा समयमा पानीको ठूलो हाहाकार हुन्थ्यो ।

८ जेठ २०७० मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड बनेपछि बोर्डमा १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा वृद्धि भएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको बोर्डका आर्थिक प्रशासन प्रमुख समेत रहेका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजना पूरा भइसकेका छन् । नगरक्षेत्रभित्र वडा नम्बर ४, ५, ६, ७, १४ र १५ मा करिब ५४ लाख ७४ हजारको लागतमा २३ हजार ४ सय मिटर पाइपलाइन विस्तारकार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको न्यौपानेले बताए । विभिन्न साइजको करिब १ लाख ४ हजार मिटर १ करोड १८ लाख बराबरको पाइप बोलपत्रको माध्यमबाट खरिद गरिएको छ ।

२०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२।७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।

गत आर्थिक वर्षमै हेटौंडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समबेल, मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल निर्माण, हेटौंडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टंकी सहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण गरियो ।

शक्तिखोलामा पानीको स्रोत पर्याप्त भएकाले सेही पानी हटियाको चिसापानीमा ल्याएर वडा नम्बर १५, १६, १७ र १८ सम्म वितरण गर्न सकिने सम्भावना देखिएको बोर्डका अध्यक्ष विष्टले बताउनुभयो।

समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट १ करोड लिटर खानेपानी थप भएको हेटौंडा खानेपानी बोर्डले जानकारी दिएको छ । सामरी समबेलबाट ६० लाख लिटर, मैदा टोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिप बोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी थपिएको बोर्ड अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।

बोर्डले प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७ सय २१ धारामार्फत वितरण गर्दै आइरहेको छ । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ ।

हाल हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४सै घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको अध्यक्ष विष्टले बताउनुभयो। हेटौंडा उपमहानगरभित्रको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भूभाग, वडा नम्बर १, ३ र १७ को केही भूभाग र वडा नम्बर १५, १६, १८ र १९ को ७०।५ प्रतिशत भूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई ३ करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको बोर्डले जनाएको छ ।

नगरक्षेत्रको वडा नम्बर ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको छ । नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष विष्टले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here