हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको बर्तमान अवस्थाका विषयमा जानकारी मुलक अन्तरक्रिया कार्यक्रम हेटौंडामा गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिंचाइ मन्त्रालयका सचिब मोहन कुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिल्वाल, कार्यक्रममा वडा नं. ९, ११, १४ र १५ का अध्यक्षहरु लगायतका बिभिन्न क्षेत्रका सरकोकारवालाहरु सहित अन्तरक्रिया गरिएको हो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरको १ देखि १९ वडा मध्ये वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासिहरुलाई दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरु मर्फत ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । हेटौंडाको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरु हस्तान्तरण भईसकेको छन् । नगर क्षेत्र भित्रको वडा नं. ११, १२ र १३ मा भने स्थानिय उपभोक्ता समितिहरुबाट खानेपानी वितरण कार्य हुदै आइरहेको पाईन्छ ।
हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भाद्र महिना देखि न्युनतम १० हजार लिटर पानी महशुल निःशुल्क गर्दै आएको छ । जसको कारणले १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ताहरु लाभान्वित भएका छन् ।
बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ । मकवानपुर गढी गा.पा.मा ३ वटा, भिमफेदी गा.पा.मा २ र हेटौंडा वडा नं. ९ मा १ वटा गरी ६ थान समवेल निर्माण कार्य आफनै स्रोत मार्फत सम्पनन गरेको छ । विभिन्न १२ स्थानहरुमा पम्प तथा पाले घर निर्माण कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो । करिब ४ सय किलो मिटर मेन तथा शाखा पाइप लाइन विस्तार कार्य सम्पन्न गरेको छ । संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र यस बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी टंकी १ वटा, भुमिगत पानी टंकी ३ वटा, डिप बोरिङ्ग ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।
संघीय सरकारको करिब ८ करोडको लगानीमा हेटौंडा वडा नं. १९ बस्तीपुरमा डिप बोरिङ्ग, ओभर हेड पानी टंकी, कार्यालय भवन तथा पाले घर निर्माण, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य अन्र्गत अपुरो रहेको योजना सम्पन्न गर्न बोर्डबाट करिब ३ करोड रुपैया लगानी गरी योजना निर्माण कार्य सम्पन्न पश्चात बोर्डबाट उक्त क्षेत्रमा सेवा सुचारु गरिएको छ ।
वागमती प्रदेश सरकार संगको सहलगानीमा हेटौंडा वडा नं. १९ बस्तीपुरमा समवेल निर्माण, हेटौंडा वडा नं. १६ मा डिप ट्यूवेल, त्रिशुलेमा ५ लाख लिटर क्षमताको भुमिगत पानी टंकी निर्माण कार्य र करिब २० कि.मि. मेन तथा शाखा पाइप लाइन बिस्तार कार्य सम्पन्न गरिएको छ ।
हाल सम्म बोर्डमा हेटौंडा वडा नं. ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा संचालित १६ वटा खानेपानी उपभोक्ता समितिहरुबाट खानेपानीको पूर्वाधारहरु सहति ९ हजार ५ सय धाराहरु हस्तान्तरण भई आएको छ । नगरको खानेपानी वितरणको काममा आफु सन्तुष्ट रहेको मेयर लामाले बताउनु भयो ।